मनिषा उपाध्यायको चम्किलो बलिङ, चार विकेटको योगदान
काठमाडौं, ५ जेठ २०८२ —
थाइल्यान्डमा जारी ICC महिला T20 विश्वकप एसिया छनोट २०२५ अन्तर्गत सुपर–३ चरणको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (UAE) ले नेपालसामु ११५ रनको चुनौती प्रस्तुत गरेको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गरे पनि, UAE ले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो। कप्तान ईशा ओझाले टिमका लागि सर्वाधिक ३९ रन बनाउँदै अग्रणी भूमिका निभाइन्। उनले ३९ बलमा २ चौका र १ छक्का प्रहार गरिन्। त्यसबाहेक तीर्थ सतीशले २१ रन, हिना होतचन्दनीले २० रन र लावन्या केनीले १३ रन जोडिन्।
मनिषा उपाध्यायको घातक बलिङ
नेपालका लागि मनिषा उपाध्यायले बलिङतर्फ शानदार प्रदर्शन गर्दै ४ ओभरमा २० रन दिएर ४ विकेट लिइन्। कविता कुँवरले २ विकेट तथा राजमती ऐरीले १ विकेट लिइन्। तर अन्य बलरहरू यूएईका ब्याट्सम्यानमाथि प्रभाव जमाउन असफल रहे।
अब केहीबेरमै नेपालले यो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ।
जीतले ग्लोबल छनोटमा स्थान, हारले बाहिरिने खतरा
आजको खेल नेपालका लागि निर्णायक छ। यदि नेपालले यो खेल जित्न सफल भयो भने उसले T20 विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ। हारको अवस्थामा भने प्रतियोगिताबाट बाहिरिनुपर्नेछ।
यसअघि, आइतबार भएको खेलमा आयोजक थाइल्यान्डले यूएईलाई ४५ रनले पराजित गरेको थियो। थाइल्यान्ड समूह ‘ए’, नेपाल समूह ‘सी’ र यूएई समूह ‘बी’का विजेता टिम हुन्।