बुटवलको होराइजन चोकस्थित मिलिजुली पथमा बुधबार बिहान एक हृदयविदारक घटना घटेको छ। अन्दाजी ३४ वर्षीया दीपा बस्याल र उनका दुई सन्तान—७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी—को विभत्स हत्या भएको छ।
प्रहरीका अनुसार हत्या गर्ने व्यक्ति सुजन कोइराला हुन्, जसले केही वर्षअघि आफ्नै दाजुको हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका थिए। तर, संविधान दिवसको अवसरमा सरकारले दिएको कैद माफी पाएर उनी छुटेका थिए।
पूर्वपतिको योजनाबद्ध हत्या
सुजन कोइराला र मृतक दीपा बस्याल पूर्वपति–पत्नी थिए। सम्बन्धविच्छेदपछि दीपा नवलपरासी निवासी शंकर ढकालसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन्। यद्यपि, सुजनले उनलाई मंगलबार घर बोलाएपछि, बुधबार बिहान ४ बजे दीपा र उनका दुई छोरीलाई घन र चक्कु प्रहार गरी हत्या गरेका हुन्।
बालिकाहरूको पितृत्व शंकर ढकालसँग
प्रहरी अनुसन्धान अनुसार, हत्या गरिएका दुई सन्तान शंकर ढकालका सन्तान हुन्। सुजन कोइरालासँग मृतक दीपालाको कुनै सन्तान थिएन। यस घटनाले देशभरि स्तब्धता र आक्रोश फैलिएको छ।
आरोपित प्रहरी नियन्त्रणमा
प्रहरीले आरोपी सुजन कोइरालालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। मृतक दीपा बस्याल पाल्पाको तानसेन नगरपालिका–७ स्थित कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी थिइन्।